Logo

खेलकुद

आईसीसी महिला टी–२० विश्वकप: आज नेपाल र युएईबीच निर्णायक भिडन्त हुँदै



काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग ग्लोबल छनौटका लागि अन्तिम खेल खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाल, हङकङ र यूएईका लागि आजको खेल निर्णायक हुनेछ ।

नेपाल तीन खेल जित्दै ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने यूएई ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस्तै तेस्रो स्थानमा रहेको हङकङ नेपालसँग समान ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपाल पहिलो खेलमै हङकङसँग पराजित भएको थियो भने त्यसपछिका तीन खेल लगातार जितेको थियो । ग्लोबल छनौट पक्का गर्नका लागि नेपाललाई आज यूएईलाई हराउनै पर्ने दबाव रहेको छ ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । आज शीर्ष दुई टोली यूएई र नेपालले प्रतिस्पर्धा गर्दा हङकङले कमजोर टोली कुवेतविरुद्ध खेल्नेछ ।

यूएईले जित्यो भने सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ ।

हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ । यस्तोमा नेपालले शीर्ष स्थानमा रहन यूएईलाई राम्रो नतिजाले हराउनुपर्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०९ बजे