Logo

मुख्य समाचार

संसद्मा कांग्रेसले जे गर्‍यो त्यो ठीक भएन : प्रमुख सचेतक परियार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसदीय व्यवस्थाको हिमायती पार्टी नै नेपाली कांग्रेस भएकोले आज संसद्मा भएको गतिविधि शोभनीय नभएको टिप्पणी गरेका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा कांग्रेसले अवरोध गरेपछि सांसद भवन परिसरमा सञ्चारकर्मीसँग् कुराकानी गर्दै उनले ढिलो÷चाँडो अहिलेको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।

सांसद परियारले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन आफूहरुलाई कुनैपनि आपत्ति नभएको जिकिर गरे । उनले कांग्रेसले नै आफै संसदीय समिति बनाउन नमानेको दाबी गरे ।

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  २ : ४० बजे