Logo

स्वास्थ्य

चिसोमा हात-खुट्टाको जोर्नी दुख्छ ? हेलचेक्रयाइँ नगरौं



काठमाडौं । चिसो मौसममा अनेकथरी शारीरिक समस्याले हुन्छ । धेरैजसाेलाइ याे सिजनमा आर्थराइटिस वा गठिया रोगले सताउने गर्छ ।

सामान्यतया सबै लिंग र उमेर समूहका मानिसमा जोर्नी दुख्ने समस्या देखिने गर्छ । तर, बृद्धबृद्धा, बालबालिका र महिलाहरुमा यसको दुखाइ बढी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

बिहान-बेलुका घरबाहिरको काममा खटिनेहरूमा हातखुट्टाको जोर्नी दुख्ने र सुन्निने समस्याबाट बढी पीडित हुने गरेका छन् । 

आर्थराइटिसमा घुँडा, कुहिनो, काँध, हात वा पूरै शरीरको कुनै पनि जोर्नीमा यो समस्या हुने गर्छ । थकान महसुस हुने एवं रोग प्रतिरोध क्षमता कमजोर हुँदै जाने, भोक नलाग्ने जस्ता समस्या पनि देखिन्छन् ।

हाडजोर्नी विशेषज्ञहरू जाडो मौसममा जोर्नीमा हुने तन्तुहरुमा दबाब सिर्जना हुने भएकोले जोर्नीको दुखाइ महसुस हुने बताउँछन् । यसको मुख्य समाधान नै चिसोबाट शरीरलाई जोगाउनु हो । यस मौसममा जोर्नीका तन्तुहरू फुल्ने हुँदा स्नायुमा दबाब सिर्जना हुने र दुखाइको महसुस हुन्छ ।

आर्थराइटिस भएमा जोर्नी सुन्निनुका साथै हातखुट्टा चलाउन समेत समस्या हुने गर्छ । शरीरको कुनै अंगमा यो समस्या देखियो भने त्यसले शरीरको अरू अंगलाई पनि प्रभावित गराउने जोखिम बढी हुन्छ । हड्डीको जोर्नीमा हुने दुखाइ, जकडिएको जस्तो हुनु एवं सुन्निनु नै आर्थराइटिसको मुख्य लक्षण हो । साथै, जोर्नी आसपासको अंग रातो हुँदै जानु, हिँडाइको गतिमा कमी आउनु जस्ता लक्षण पनि देखिने गर्छ । आर्थराइटिसको लक्षण बिहानको समयमा बढी देखिन्छ ।

धेरै मानिस चिसोमा जोर्नी सुन्निनुलाई सामान्य मानेर ढुक्क भएर बस्छन् । जोर्नी सुन्निएको वा दुखेको छ भने ढुक्क भएर बस्न नहुने चिकित्सकहरूकाे सुझाव छ । मुटुमा समस्या हुँदा र चिसोले तन्तु सुनिँदा उस्तै समस्या देखिने भएकाले  चिसोको कारणले नै जोर्नी सुनियो भनेर ढुक्क हुनसक्ने अवस्था नरहेको उनीहरूकाे भनाइ छ । चिसोका कारण जोर्नी दुखेको हो भने न्यानो कपडा लगाउने र तातो तेल लगाएर सेक्दा दुखाइ कम हुन्छ । चिसोमा यस्तो समस्या लामो समयसम्म देखियो भने मुटुको परीक्षण पनि गर्नु उपयुक्त हुन्छ ।

जोर्नीको दुखाइबाट बच्न भिटामिन डी आवश्यक पर्छ । यसका लागि जतिसक्दो धेरै समय घाममा बस्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।  जाडोमा बाथ रोगबाट पीडितहरुले तातोपानीले नुहाउनु उपयोगी हुने चिकित्सकहरु सुझाउँछन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ५५ बजे