Logo

मुख्य समाचार

जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने गृहमन्त्रीको भनाई



काठमाडौं । उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछानेले आफूमाथि अन्याय भएपछि महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नका जवाफ दिँदै लामिछानेले सहकारीको नामै तोकेर आफ्नो नाम सूचना मागेको त्यसको राजनीतिक अन्तर्यबारे थाहा नभएको टिप्पणी गरे ।

उनले भने, ‘सभामुख महोदय, आफूमाथि अन्याय हुँदा, मेरो बारेमा सूचना माग्न काँही न काँही जानैपर्ने थियो । व्यक्तिका रुपमा सूचना माग्नका लागि मैले महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेँ । मेरा बारेमा धेरै समाचारहरु आए । सहकारीको नामै तोकेर नाम आएपछि मेरोबारे सूचना मागेको हुँ । मैले त्यसभित्रको राजनीतिक अन्तर्य बुझ्न सकिनँ ।’

सहकारीको रकम अपचलनमा आफूविरुद्ध लगातार समाचार आइरहँदा कतै प्रहरीमा उजुरी वा मुद्दा परे नपरेको बुझ्न महान्यायाधिवक्ताबाहेकको निकाय आफूले नदेखेको उनले बताए ।

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने समेत भनाइ उनले राखे ।

‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन । जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन,’ उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे