Logo

मुख्य समाचार

कार्यादेश बनाउने बैठक निष्कर्षविहीन



काठमाडौं  । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक आइतबार निष्कर्षविनै टुंगिएको छ ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ–आफ्ना अडानमा कायम रहँदा कार्यदलमा सहमति हुन नसकेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

त्यस्तै, कार्यदल सदस्य रास्वपा नेता शिशिर खनालले एक व्यक्तिलाई दोषी करार गरेर समिति बन्न नहुने अडानमा आफूहरु रहेको बताए । 

उनले भने, ‘मिलाएर जाउँ भन्ने प्रयासमा छौं । एकहदसम्म पुरानै कुरामा छौं । एउटा व्यक्तिलाई दोषी करार गरेर त्यसमा केन्द्रित हुनुहुँदैन ।  उहाँहरू (कांग्रेस) ले ल्याउनुभएको भाषामा दोषी करार गरेको देखिन्छ । टीओआर बनाउँदा फलानो दोषी हो भन्ने विषयमा असहमति छ ।’

कार्यदलमा सहमति नजिक पुगेको भए पनि निष्कर्षमा नपुगेको बताएका उनले प्रतिनिधि सभाको बैठकपछि फेरि बस्ने जानकारी दिए ।

कार्यदलमा सहमति नजुटेपछि सांसदहरु प्रतिनिधि सभाको बैठकमा सहभागी हुन नयाँ बानेश्वरतर्फ हिँडेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ५ : २३ बजे