Logo

खेलकुद

टी-२० महिला विश्वकप छनोटमा हङकङद्वारा नेपाल पराजित



काठमाडाैं । आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले खराब सुरुवात गरेको छ। सोमबार दुबईमा भएको खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गर्‍यो।

नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन्। उनले ४२ बलमा ४ चौका प्रहार गरिन्। नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रनको योगदान दिए। 

बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो।

नेपालका लागि सीता रानामगरले ४० रनको योगदान गरिन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्। इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। उनले ३६ बलमा ३ चौका हिर्काइन्। त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठले ४ रन भन्दा जोड्न सकिनन्। कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन्। बलिङमा हङकङकी बेटी चान र केरी चानले १-१ विकेट लिए। 

छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ। छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ३८ बजे