Logo

मुख्य समाचार

संसदीय छानविन समिति : कार्यदलको क्षेत्राधिकारमै अलमल



काठमाडौं । सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपनि कार्यदेश नटुंगिदा आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय २ बजेलाई सारिएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै तीन घण्टा लामो छलफलपछि सत्ता पक्ष र प्रतिपक्ष संसदीय छानबिन तयार भएका थिए ।

समितिको कार्यदेश के हुने भन्ने विषयमा एमाले नेता एवंम कानुनमन्त्री पदम गिरीको नेतृत्वको कार्यदेश समितिले काम गरिरहेको बताइएको छ । कार्यदलमा रास्वपाका तर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।

कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्दै काम गरिरहेको कानून मन्त्रालय स्रोतले बताएको छ ।

तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ । समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ ।

कार्यदेश तयार नहुँदासम्म बैठक संचालन नगर्न आग्रह 

विपक्षी दलहरूले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरू बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए । कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसेको छ ।

रवि लामिछानेलाई सुन्न तयार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।

आइतबार बिहान नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

यद्यपी, समिति गठन नभएसम्म नियमित कामकाज अगाडि बढ्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १ : ४० बजे