Logo

मुख्य समाचार

‘खेलकुदको क्षेत्र व्यक्ति होइन नीतिले चल्नुपर्छ’



काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मुलुकको खेलकुद क्षेत्र व्यक्ति नभइ नीतिले निर्देशित हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले नीति नबनाइ एउटा व्यक्तिले चाहेरमात्रै खेल क्षेत्रको विकास सम्भव नहुने बताए । ‘व्यक्तिले खेल कहिले पनि विकास हुँदैन, विधि, नीति र ऐनले मात्र यो विकास हुन सक्छ,’ उनले भने, ‘आज भएको व्यक्ति भोलि नरहला, त्यसकारण व्यक्तिमा भर पर्न थाल्यो भने जग दरो हुँदैन, नीति दरो हुनुपर्छ । खेलको ऐनको हामी पुर्व सन्ध्यामा छांै र सुझाव संकलनको काम भइरहेको छ ।’

खेललाई प्राज्ञिक र व्यवसायिकतातिर लैजानुपर्ने उनले बताए । ‘राज्य र पूर्वाधारले मात्र त्यो सम्भव छैन । त्यसको लागि अब हामीले काठमाडौं विश्वविद्यालयसँग एउटा सम्झौता गरेका छौ । जहाँ तपाईहरुले खेल विज्ञान सम्बन्धी ६ महिनाको कोर्ष लिन सकिन्छ । सबै जना विज्ञानमा जनु पछर्, नत्र खेल माथि आउन गाह्रो हुन्छ,’ उनले भने ।

खेललाई पाठ्यक्रममा पनि लैजाने प्रयास गरिएको उनले बताए । ‘यसको साथै प्रशिक्षकको कुरा गर्दा ३० वर्षपछि प्रशिक्षकहरुलाई हरेक विद्यालयमा प्रशिक्षककै रुपमा काम गर्न पाउने नीतिबाट नै गर्ने प्रयासमा छौं,’ उनले भने ।

खेलकुद क्षेत्रमा भएको बेथिति हटाउन पहल सुरु भइरहेको बताएका उनले सबै मिलेर काम गर्नुपर्ने बताए । ‘म पनि पहिला यो देशको बेथिति कोही गएर समाधान गरे हुन्थ्यो, सरकारले गरे हुन्थ्यो भन्ने सोच राख्थेँ तर त्यो कोहीमा म पनि पर्छु, तपाईहरु सबै पर्नु हुन्छ । सबैले आफ्नो स्थानबाट प्रयास गर्ने हो भने केही सुधार हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : ४९ बजे