Logo

मुख्य समाचार

संसद अवरोधप्रति सभामुख चिन्तित, अध्यादेशको बाटो खोज्न सकिने



काठमाडौं । सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ बन्दक बनिरहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरुले जनताको विषय उठाउने संसद आज बन्दक बनिरहेको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन । अहिले संसदमा जे गतिविधिहरु भइरहेका छन त्यो राम्रो संकेत होइन । संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो । किनभने संसदमा हुनुपर्ने वहस र छलफलहरु अगाडि बढ्न सकिरहेको छैन् । संसद बन्दक बनिरहेको छ । जनताका प्रतिनिधिहरुले जनताको अभिमतहरु राखेर निर्णय गर्ने ठाँउ आज अवरोध छ ।’

उनले संसद सधैँ अवरुद्ध रहने हो भने संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरुका लागि नयाँ बाटो खोज्नुपर्ने हुनसक्छ । अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ । यस्तो अवस्थामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ । त्यसैले यो बेला संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरु खोल्नुपर्ने अवस्था आउँछ । अहिलेको अवस्थामा हामी गयौं भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि वहसमा आउनसक्छ ।’

हालकै प्रणाली अन्तरगत संसद रोकिएर बस्न सक्दैँन् र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको पनि उनको भनाइ छ ।

सभामुख घिमिरेले यतिबेला सरकार, व्यवस्थापिका र न्यायपालिकाको राष्ट्र र जनताप्रति भूमिका के हो भन्ने कुरा जनताले बुझने भएकाले यसको समीक्षा हुनुपर्ने औंल्याए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ३ : ०७ बजे