Logo

मुख्य समाचार

सामान्य प्रशासन मन्त्रालयमा पीएहरुको रजगज



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेका छन्— मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइनँ । सरुवा बढुवाको कुरामै अलमल भइरहेको छ ।

हुन पनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ । मन्त्री जोशीलाई उनकै स्वकीय सचिव (पीए)हरूले बद्नाम गराउन उद्दत छन् ।

मन्त्रीका स्वकीय सचिवहरूले अनावश्यक चासो र शक्ति अभ्यास गर्न खोज्दा सरुवा बढुवाका लागि मन्त्रालयका सचिवसमक्ष मन्त्रीको सचिवालयबाट भन्दै अलग—अलग सूचीहरु पुग्न थालेका छन् । जसमा न त मन्त्रीलाई जानकारी हुने गरेको छ, न त रुची नै ।

त्यसो त मन्त्रीका स्वकीय सचिवहरू पनि मन्त्रीका आफ्नै मान्छे छन् । मन्त्रीको भतिजा दाबी गर्ने उपसचिव लवराज जोशी, मन्त्रीनिकट इन्जिनियर दिपक बोहरा र सहोदर छोरी कृषिकी अधिकृत चन्द्रा जोशीबीच सरुवाबढुवाका लागि शक्ति संघर्ष चलिरहेको छ ।

मन्त्रालयका एक कर्मचारीले भने, सरुवाबढुवाले यति अफ्ठयारो छ कि मन्त्रीका पीएहरु तीन जनाले तीन वटा लिष्ट लिएर आउँछन् । सचिवज्यूले कसले भनेको मान्ने ? साह्रै असजिलो भएको छ । स्वकीय सचिवहरुको अनावश्यक चासोले मन्त्रीकै बद्नामी भइरहेको छ ।

मन्त्री जोशीले यी नै शक्तिशाली पीएहरुका कारण पार्टीभित्र पनि आलोचना खेपिरहेका छन् । सरुवा बढुवामा पार्टीका नेताहरुले आफ्नो सिफारिसको कुनै महत्व नदिएको भन्दै उनको आलोचना गर्न थालेका छन् ।

मन्त्रीका स्वकीय सचिवहरुले सरूवामा रकमको समेत लेनदेन गर्ने, तर मन्त्रीलाई अनेक बहानामा कन्भीन्स गर्ने प्रतिस्पर्धा नै चलिरहेको मन्त्रालयका कर्मचारीहरु सुनाउँछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : २६ बजे