Logo

मुख्य समाचार

संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने



काठमाडौं । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेताहरूको आन्तरिक व्यस्तताका कारण शुक्रबार बेलुका छलफल हुन नसकेको बताए । उनका अनुसार शनिबार बिहान साढे ८ बजे प्रधानमन्त्रीसँग भेटघाटको समय तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो ।

त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : १४ बजे