Logo

समाचार

आइतबारदेखि मौसममा सुधार हुने



काठमाडाैं । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम अगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले बताए ।   

हाल देशको प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ । दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका भूभागहरुमा सामान्य  बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली  रहने महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव एक डिग्री र अधिकतम तापक्रम २२ दशमलव पाँच डिग्री सेल्सियस छ । 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०८ बजे