Logo

मुख्य समाचार

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा  जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै बुधबारका लागि पेशी राखिएको छ ।

सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो । 

लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । उक्त बहस जारी रहँदा मुद्दा हेर्दाहेर्दै राखिएको छ । बुधबार उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।

त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ६ : ४४ बजे