Logo

मुख्य समाचार

नीति तथा कार्यक्रममा खेलकुद, प्रतियोगिता र पूर्वाधारमा लगानी बढाइने



काठमाडौं । सरकारले नेपालको परम्परागत तथा मौलिक खेलहरुको प्रबन्ध र क्षमतावान खेलाडीहरुको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने घोषणा गरेको छ ।

मंगलबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आर्थिक वर्षमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने बताए ।

अन्तर्राष्ट्रिय खेलकु्द प्रतियोगितामा नेपालको सहभागिता बढाइने पनि उनले सुनाए ।

आधुनिक प्रविधियुक्त स्पोर्टस्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सरकारको नीति रहेको पौडेलले बताए ।

त्यस्तै, विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरुलाई खेलकुदसम्बन्धि तालिम दिइने नीति तथा कार्यक्रममा छ । बालबालिकाको उमेरगत खेलकुदको आयोजना गरिने सरकारको नीति रहेको पौडेलले बताए ।

खेलाडीको भत्ता र वृत्तिविकासका लागि विशेष कार्यक्रमको आयोजना गरिने नीतिमा छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मान तथा जीवन निर्वाह भत्ता प्रदान गरिने पौडेलले बताए ।

त्यसैगरी, खेलकुद पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणमा तीव्रता दिइने उनले बताए ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा निर्माण गर्ने सरकारको नीति रहेको संसद्को संयुक्त सदनमा घोषणा गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ०५ बजे