Logo

मुख्य समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको कार्यकक्षमा बैठक जारी छ ।

बैठकमा संघीय संसद्को संयुक्त बैठक, सरकारको नीति तथा कार्यक्रम र त्यसपश्चात् बस्ने राष्ट्रिय र प्रतिनिधि सभा बैठकका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले सरकारले समिति नबनाइएसम्म सदन चल्न नदिने अडान कायम राखेको छ । यद्यपी, कांग्रेसले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपश्चात् कुनै बैठक चल्न नदिने निर्णय गरिसकेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक अघि सभामुख घिमिरेले दलका प्रमुख सचेतकसँग बैठक बसेर सदनको आजको कार्यतालिकाबारे छलफल गरेका थिए । सो बैठकमा घिमिरेले दलहरुबीच समसामयिक विषयमाथि सहमति नजुट्दा संसदीय कामकारबाही  प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने धारणा राखेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा यी विषयमा पनि छलफल गरिने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  २ : २६ बजे