Logo

राजनीति

कांग्रेसले नीति तथा कार्यक्रम पारित गर्न दिने तर आफ्ना मागबाट पछि नहट्ने



काठमाडौं । नेपाली कांग्रेसले आज संघीय संसदको संयुक्त बैठक भने सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि त्यसपछिको बैठकमा आफूहरु माग पूरा नभएसम्म सहभागी नहुने बताए ।

‘राष्ट्रपतिले सम्बोधन गर्नुहुने संघीय संदको,संयुक्त बैठकमा हामी भाग लिन्छौ त्यसमा कुनै अवरोध हुँदैन । तर, त्योपछि बाहेकका सरकारले ल्याएका कार्यसूचीहरुमा कुनैपनि सरकारी काम कारबाहीमा सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म हामी प्रवेश गर्दैनौ ।’ उनले थप भने, ‘यसबाट जुन परिणाम उत्पन्न हुन्छ त्यसको जवाफदेहिता सरकारले लिनुपर्ने निर्णय हामीले आजको बैठकमा गरेका छौं ।’

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले

सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको वचतको सुरक्षाको ग्यारेण्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरु माथि कारबाही गर्न अनिवार्य भएको ठहर समेत गरेको छ ।

यस्तै बैठकमा गिरीबन्धु टी–स्टेटबारे भए गरेका काम कारबाहीका सम्बन्धमा बैठकमा विषय प्रवेश गरेको र सो विषयलाई सबै कोणबाट अध्ययन गरेर अर्को बैठकमा थप छलफल गरी धारणा बनाएर सार्वजनिक गर्ने प्रमुख सचेतक लेखकले जानकारी दिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : ०४ बजे