Logo

मुख्य समाचार

विद्यार्थी महोत्सवको अन्तिम तयारी, विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने



काठमाडौं । एमाले निकट अनेरास्ववियुले यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गरेर विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने तयारी थालिएको जनाएको छ ।

पछिल्ला वर्षहरुमा विद्यार्थी आन्दोलनको प्रभावबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला काठमाडौंको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’को आयोजना गरेर विगतको विद्यार्थी आन्दोलनको छवी सुधार्दै विद्यार्थीको हक अधिकारका लागि नयाँ रुपमा संगठन लाग्ने अध्यक्ष समिक बडालले बताए ।

उनले विगतका नेतृत्वले गरेका राम्रा नराम्रा कामको समीक्षा गरेरै आफू नेतृत्वको कार्यसमितिले विद्यार्थी आन्दोलनलाई नयाँ र प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने निष्कर्ष सहित अघि बढेको बताए । विद्यार्थी आन्दोलनबाट उदाएका विद्यार्थी नेता कार्यकर्तामै सिमित हुन्छन भन्ने आम बुझाइलाई चिर्दै प्रविधिमैत्री शिक्षासँगै आन्दोलनको स्वरुप बदल्नुपर्ने आजको आवश्यकता सँगै अघि बढ्ने बताएका बडालले अब विद्यार्थीले चाहेको संगठन बनाउने उल्लेख गरे ।

‘भविष्यलाई आकार दिने, दिमागलाई सशक्त बनाउने’,भन्ने मूल नारा सहित मनाउन लागिएको महोत्सवबारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘हिजो हामी व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्दै गर्दा विद्यार्थी नेताको नभएर राजनीतिक दलको कार्यकर्ताको परिचय बढी व्यहोर्नुपर्यो । अब त्यो राजनीतिक कार्यकर्ताको परिचयसँगै नेपालको विद्यार्थी आन्दोलनबाट उत्पादन हुने नेता कार्यकर्ताहरु जुन क्षेत्रमा कामका लागि हात हाल्छन त्यसको विषय विज्ञ भएर निस्कनेछन भन्ने सन्देश हामीले यो विद्यार्थी महोत्सवमा दिनेछौं ।’ अध्यक्ष बडालले थपे, ‘महोत्सवमा हामीले जुन इभेन्टहरु राखेका छौं त्यो इभेन्टहरुले आजको विद्यार्थीहरुको रुचीको विषयहरु के छन् ,विद्यार्थीले कुन विषय पढ्न चाहन्छन् त्यो हामी राज्य र सरोकारवालाहरुलाई बुझाउने छौं ।’

यस्तै, उनले हिजो व्यवस्था परिवर्तनमा शसक्त भूमिका निर्वाह गरेका विद्यार्थी संगठनको धुमलिएको छवीलाई प्रष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । उनले देशलाई समृद्ध कसरी बनाउने, कसरी युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने ? शिक्षालाई रोजगारी र सीपसँग कसरी जोड्ने भन्ने विषय अबको नेपालको विद्यार्थी आन्दोलनले उठाउनेमा जोड दिए ।

यस्तै संगठनका उपाध्यक्ष एवं ‘विद्यार्थी महोत्सव–२०८१’ का संयोजक धर्म गिरीले नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा अनेरास्ववियुको अलग्गै भूमिका रहेको उल्लेख गर्दै अब विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने तयारी थालिएको जानकारी दिए । उनले संगठनले गर्ने पहिलाको र अहिलेको क्रियाकलाप फरक हुने दाबी गरे ।

‘पहिले त्यहि भृकुटी मण्डप र आरआर कजेल अगाडि विद्यार्थीको हकहितका लागि राँको बाल्ने विद्यार्थी संगठन आज हामी नेपालका विश्वविद्यालयमा सुुधार गर्नुपर्छ र नेपालको विद्यार्थी आन्दोलनको दिशा अब नयाँ हिसाबले तय गर्नुपर्छ भनेर हामी निराशा नै निराशामा लागेको युवा विद्यार्थीमा आशा जगाउने गरी विज्ञान र प्रविधिको अधिकतम प्रयोगमा जोड दिँदै यो महोत्सव आयोजना गरेका छौं ।’

अनेरास्ववियु स्थापनाको ६० वर्षको अवसरमा संगठनले मंगलबारदेखि तीन दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा भव्य रुपमा विद्यार्थी महोत्सव आयोजना गर्दैछ । महोत्सवमा सबै विचार र सिद्धान्तमा आस्था भएका राजनीति दल, समाजसेवी, शिक्षाविद र सबै संगठनका विद्यार्थीहरुलाई आमन्त्रण गरेको आयोजकले जनाएको छ ।

यस्तै, आयोजक अनेरास्ववियु भएतापनि साझा विद्यार्थीहरुको महोत्सवका रुपमा महोत्सवलाई सफल बनाउने आयोजकको तयारी छ । विद्यार्थीहरुका विभिन्न किसिमका प्रतिभाहरुलाई हामीले एकै ठाउँमा १९ वटा कार्यक्रमलाई जोडेर राज्यले लगानी गर्ने हो भने विद्यार्थीहरुमा क्षमता छ भन्ने सन्देश दिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : २० बजे