Logo

मुख्य समाचार

अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने वाध्यता अन्त्य गर्न माग



काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त सुधार गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

मितिनी नेपालको सहयोगमा मायाको संसारले आइतबार आयोजना गरेको ‘लैङ्गिक, लैङ्गिकता, यौनिकता र नेपाल प्रहरीसँगको सम्बन्ध’ विषयक अन्तरक्रियामा समुदायका व्यक्तिहरुको अधिकार सुरक्षित राख्न कानुनमा प्रशस्त शंसोधन गर्नुपर्ने वक्ताहरुले धारणा राखेका हुन् ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी वसन्त रजौरे, अधिवक्ता सुजन पन्तले प्रहरी र समुदायका व्यक्तिहरुबिच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनीहरुले कतिपय कानुनी प्रावधानका कारण समुदायका व्यक्तिहरुले दुःख पाउने गरेको, अपहेलित हुनुपरेकाले अधिकार स्थापित गर्न कानुनी व्यवस्था गर्न दबाब बढाउनुपर्ने धारणा राखे ।

एसएसपी रजौरेले समुदायका व्यक्तिहरुले आफ्नो सोच परिवर्तन गरी सकरात्मक काममा लाग्न सुझाव दिए । सरकारले रोजगारीमा व्यवस्था नगर्दा, गरिखाने माध्यम नपाउँदा, समाज र परिवारले अपहेलना गर्दा समुदायका व्यक्तिहरु सडक किनारमा उभिएर ग्राहक खोज्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसको अन्त्यका लागि बक्ताहरुले जोड दिए ।

मायाको संसारकी अध्यक्ष सुनिता लामाले समुदायका व्यक्तिहरुमाथि लैङ्गिक हिंसा हुने गरेको र रात्रीकालिन व्यवसायमा जोखिम मोल्नुपरेको बताइन । उनले समुदायको हक, अधिकारका लागि सबै तहले वकालत गरेर सहजीकरण गरिदिन आग्रह गरिन । उनले सरकारले समुदायका व्यक्तिहरुलाई रोजगारी र आत्मनिर्भर बनाउन पहल गर्न अनुरोध गरिन ।

‘हामीलाई सोच परिवर्तन गर्न, पेशा परिवर्तन गर्न सुझाव दिनुहुन्छ तर राज्यको नीति र कानुन परिवर्तन गर्न दबाब कसैले दिंदैन । निर्वाध रुपले, हिंसा र अपहेलनामुक्त रुपले बाँच्नका लागि र यौनकर्मी श्रमिकहरुको अधिकार स्थापनाका लागि बोल्न किन अफ्ठ्यारो भइरहेको छ ?’, अध्यक्ष लामाको प्रश्न थियो ।

कार्यक्रममा संस्थाका बारेमा सुदिप कुमार थिङले जानकारी गराए भने मानव अधिकार आयोगकी बर्षा कुमारी झाले समुदायका व्यक्तिहरुको न्यूनतम मानव अधिकारका बारेमा जानकारी गराइन । कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्ज डिएसपी अमरबहादुर थापा क्षेत्री, दरबारमार्गका डिएसपी गोविन्द थापाको सहभागिता थियो ।

आयोजक संस्था मायाको संसारले यौनकर्मी श्रमिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ३० बजे