Logo

प्रविधि

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट



रामग्राम(परासी) । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा  हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादनमा सफल भएसँगै एसेम्बल प्लान्ट औपचारिक उदघाटन गरिएको हो ।

औपचारिक उदघाटन भएसँगै नेपालमै एसेम्बल भएको हुन्डाई ब्रान्डका भेन्यू बिक्री पनि शुरु भएको छ । कम्पनीका महाप्रवन्धक दिपक थपलियाका अनुसार अहिले हुन्डाईका भेन्यू कार उत्पादन शुरु भएको र भविष्यमा क्रेटा उत्पादन शुरु गरिनेछ । भारत र कोरियाबाट आयात गरिएका पार्ट्सबाट नेपालमै कार तयार गरिने उनले बताए । हाल दुईसय जनाले रोजगारी पाइरहेको र भविष्यमा पाँचसय जनाले रोजगारी पाउने उनको भनाइ छ ।

प्लान्टमा ११ सय मुख्य पार्टपुर्जा कोरिया र एकसय सहायक गरी १२ सय पुर्जा जडान गरी एउटा भेन्यू कार तयार गरिने थपलियाले जानकारी दिए । कोरियाली प्राविधिकहरुको सहयोग र तालिमबाट नेपालमै दक्ष प्राविधिकबाट कार उत्पादन गरिएको कम्पनीले जनाएको छ । कार टेष्ट राइडका लागि प्लान्ट परिसरमै एक किलोमिटर सडक निर्माण गरिएको छ ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात शुरु गरेको थियो ।

हुन्डाई मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो । त्यसयता कम्पनीले ठूलो संख्यामा सीकेडी आयात गरिसकेको छ । ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो । रामग्राममा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कर्पोरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो ।

भब्य एसेम्बली प्लान्ट

कम्पनीको अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा भव्य निर्माण गरिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको प्लान्टमा पाँच हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरुको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीले राखेको छ ।

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा  कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको जनाएको छ ।

वैशाख २८ गते शुक्रबार मोटर एसेम्बली प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् । उद्घाटनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ते यन्ग, हुन्डाई मोटर भारत लि का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत उन्सू किमलगायतको उपस्थिति थियो ।

उदघाटनसँगै लक्ष्मी ग्रुपले नेपालको मोटर गाडी उद्योगमा एक महत्त्वपूर्ण इतिहास रचेको दाबी गरिएको छ । जहाँ नेपालमा बनेको पहिलो ‘हुन्डाइ भेन्यू’ हाल प्रदर्शनमा राखिएको छ । प्लान्टले निकट भविष्यमा हुन्डाई मोटर्सका अन्य मोडलका गाडीहरुको पनि एसेम्ब्लिंग गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपालमा हाल हुन्डाईका १६ शोरूम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा माथि चार्जिङ्ग प्वाइन्ट्स छन् । यसका लागि लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा विशेष भूमिका निर्वाह गरिरहेको छ ।

नयाँ मूल्य चाँडै

नेपालमै कार उत्पादन गरेसँगै मूल्य पनि घट्ने कम्पनीले जनाएको छ । कम्पनीका मार्केटिङ एवम कम्युनिकेशन अधिकृत सन्दिप शर्माका अनुसार एक साताभित्र नेपालमा उत्पादित नयाँ कारको मूल्य निर्धारण हुनेछ ।

उनका अनुसार नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातको तुलनामा कम पर्नजाने बताए । नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ ।

हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य २०२४ मोडलको ई १.२ को ४१ लाख  ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य राखिएको छ ।

सरकारको सहजीकरण

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलीयत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरु सरकारले उपलब्ध गराएको छ ।

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलीयत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ । प्लान्ट उदघाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सुरक्षित राख्ने प्रतिबद्धता जनाउँदै लगानी प्रोत्साहनका लागि नयाँ व्यवस्था ल्याउने जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १ : १७ बजे