Logo

मुख्य समाचार

‘०८४ लाई सकरात्मक सन्देश दिनका लागि इलाम २ कांग्रेसले जित्नैपर्छ’


२३ चैत्र २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले इलाम २ को उपनिर्वाचनले आगामी २०८४ सालको निर्वाचनका लागि सन्देश दिने भएकाले सबै कांग्रेस कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार विहान नेपाली कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले इलामको उपनिर्वाचनले राष्ट्रिय राजनीतिमै विशेष अर्थ राख्ने भएकाले पार्टीले आकांक्षीहरुको व्यवस्थापन र कार्यकर्ताहरुमा उत्साह जगाउन सक्नुपर्ने बताए ।

‘उम्मेदवार बन्नका लागि आकाक्षा राख्नुहुने सबै सक्षम र योग्य हुनुहुन्थ्यो । पार्टी सभापतिसँग पटक पटक भएको छलफलपछि एक किसिमको सहमति बनेको छ । त्यसैले अब ०८४ को निर्वाचनलाई क्षति नपुगोस भन्ने उद्देश्यले आकांक्षीहरुको व्यवस्थापनमा पनि नेतृत्वले ध्यान दिनुपर्छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारले इलाम २ को परिस्थिति विगतको भन्दा अलिक फरक र केही सहज भएको भनिएपनि सबै एकजुट भएर प्रशस्त मेहेनत गर्न सुझाव दिइन । उनले कांग्रेसका सबै निकाय, विभाग सक्रिय गराएर कांग्रेलाई जिताउनुपर्ने बताइन् ।

कांग्रेस केन्द्रीय सदस्य उमेशजंग रायमाझीले कांग्रेसको विचार र सिद्धान्तले मात्र देशको भविष्य सुरक्षित राख्ने भएकाले सबै पार्टी पंक्तीलाई एकजुट भएर इलाम २ का कांग्रेस उम्मेदवारलाई विजयी गराउन आब्हान गरे ।

‘पार्टीका नेताहरु कोहीपनि सर्वगुण सम्पन्न हुँदैनन् । हाम्रा उम्मेदवारहरु पनि केही कमजोरी होला तर पार्टीको विचार र सिद्धान्तलाई ध्यान दिएर कांग्रेसलाई जिताउनुपर्छ,’ उनले भने । पार्टीका सानातिना गल्ती कमजोरीले प्रजातन्त्र जोखिममा पर्ने भएकाले सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सबै आकाक्षीहरुलाई साथै लिएर चुनाव जित्ने दावी गरे । उनले विगत भन्दा यस पटक चुनाव जित्न सहज भएको दाबी पनि गरे । कार्यक्रममा आकाक्षीहरु केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङदेनलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ५८ बजे