Logo

मुख्य समाचार

बाह्य युद्धमा नेपालीको संलग्नता रोक्न कानुन बनाऔं’



काठमाडौं । बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।

समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्ने माग गरेका छन् ।

समाजले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, इरान–पाकिस्तान सीमावर्ती बलुचिस्तानमा भएको आक्रमण, उत्तर–दक्षिण कोरिया–जापानबिचको द्वन्द्व, चीन ताइवान द्वन्द्वलगायतको उदाहरण दिँदै समाजले यसमा नेपाली सैन्य दुरुपयोग हुन सक्ने भन्दै सजग गराएको हो ।

‘२०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्ध दुई वर्ष पुग्नलाग्दा पनि रोकिएको छैन । युरोपबाट सुरु भएको युद्धको डढेलो पश्चिम एसिया हुँदै दक्षिण एसियासम्म सरिसकेको छ । इजरायल र हमासबीचको युद्धले पश्चिम एशिया त्राहीमाम छ भने अमेरीकी गठबन्धन र यमनको अधिकांश भाग कब्जा गरेको हुथीबीच (पश्चिमद्वारा आतंकवादी घोषित) आक्रमण प्रत्याक्रमणले रक्तसागर क्षेत्र अशान्त छ,’ समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसैबिच इरानले पाकिस्तानको सीमावर्ती बलुचिस्तानमा गरेको आक्रमण र पाकिस्तानले गरेको प्रत्याक्रमणले युद्धको बाछिटा दक्षिण एसियासम्म आइपुगेको छ । युद्ध विस्तारित हुँदै जानु विश्व शान्ति र मानव सभ्यताका लागि गम्भीर खतरा रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।’

रुस–युक्रेन युद्ध सुरु भएपछि समाजले तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न आह्वानसहित अभियान नै चलाएको थियो । पछिल्लो समय रुसी सेनामा भर्ति हुन गएका दर्जनबढी युवाहरु रुस–युक्रेन युद्धमा मारिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ५४ बजे