Logo

मुख्य समाचार

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानुन समितिले प्रधानमन्त्रीलाई बोलायो



काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरूको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकमा सांसदहरूले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरू प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए ।

समिति सदस्यहरूको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरूका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिए ।

उनले भने ‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा। एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानुन न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननीय प्रधानमन्त्रीज्यू र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु ।’

उनले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हेर्ने क्षेत्राधिकार कानुन समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ७ : २२ बजे