Logo

Breaking News 1

हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले किन दिइन् राजिनामा ?



काठमाडौं । विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन् ।
उनी इजरायल–हमास द्वन्द्वको बीचमा साहित्यिक चोरी र यहुदीविरोधी अभिव्यक्तिको आरोपको सामना गर्दै आएकी थिइन् ।

उनलाई पद छाड्न चौतर्फी दबाब बढेको थियो । इजरायल हमास युद्ध सुरु भएपछि उनले हमासको पक्ष पोषण गरेको आरोप लागेको थियो ।

सोही विषयमा आलोचना बढ्दै जाँदा अन्ततः उनले राजीनामा दिएकी हुन् । आफ्नो राजीनामाको घोषणा गर्दै पत्रमा उनले आफ्नो वहिर्गमन विश्वविद्यालयको ‘सर्वोत्तम हित’ को रुपमा उल्लेख गरेको बीबीसीले जनाएको छ । आफ्नो राजीनामाले हार्वर्डलाई ‘व्यक्तिगत भन्दा संस्थामा ध्यान केन्द्रित गर्न’ सहजता प्रदान गर्ने पनि उल्लेख गरेकी छन् ।

गेले ६ महिना हार्वर्ड विश्वविद्यालयमा अध्यक्षका रुपमा काम गरिन् । उनी विश्वविद्यालयको नेतृत्व गर्ने पहिलो अश्वेत व्यक्ति र दोस्रो महिला थिइन् । उनको कार्यकाल विश्वविद्यालयको इतिहासमा सबैभन्दा छोटो हो । विश्वविद्यालय ३८८ वर्ष अगाडि स्थापना भएको इतिहास छ ।

हार्वर्ड अमेरिकाका धेरै विश्वविद्यालयहरूमध्ये एक हो । जसलाई अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएपछि आफ्ना यहुदी विद्यार्थीहरूको सुरक्षा गर्न असफल भएको आरोप लागेको छ । गाजामा युद्ध सुरु भएदेखि नै अमेरिकामा यहुदी विरोधी विरोधी घटनाहरू बढेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ६ : २० बजे