Logo

मुख्य समाचार

निराशा बढाउने छुट कसैलाई छैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यको चयन संविधानले गरेको परिकल्पनाअनुसार हुनुपर्ने बताएका छन् ।

पूर्व कर्मचारी समाज नेपालद्वारा प्रकाशित स्मारिका समभाव अंक ४, २०८० को बुधबार राजधानीमा भएको विमोचन कार्यक्रममा उनले संविधानको परिकल्पनाभन्दा भिन्नै रहेर सदस्यको चयन भए मुलुकमा सरकार र व्यवस्थाप्रति निराशा अझ बढ्ने उनले बताए । यसको छुट कुनै पनि दललाई नभएको उनको भनाइ छ ।

‘अहिले हामी राष्ट्रियसभाको निर्वाचनको बारेमा छलफल गर्दै छौं । तर राष्ट्रिय सभाको यत्रो छलफल गर्दै गर्दा हाम्रो पार्टीको विधानअनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ, म नजिकबाट नियालिरहेको छु । राष्ट्रिय सभाभित्र संविधानले ख्याति प्राप्त विभिन्न पेसा, क्षेत्रमा रहेर अनुभव गरेको मानिसहरु त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ,’ उनले भने, ‘अहिले त्यो बहसमा पनि नआउने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा, त्यसको एउटा कारण भनेको दलभित्रको निर्णय गर्ने जुन थलो छ, त्यो थलोमै उचित प्रतिनिधित्व नहुँदा आफैं हराउँदैछ ।

पार्टीको वैधानिक संरचनामै यो देखिन्छ ।’ दलहरुले संविधानको परिकल्पनाभन्दा बेग्लै मनपरी ढंगले सिफारिसमा जोडबल गर्न नहुने तर्क उनले गरे । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ । दलहरुले यसका लागि तयारी गरिरहेका बेला महामन्त्री थापा आफ्नै दलबाट हुने सिफारिसप्रति सशंकित सुनिए ।

पार्टीको विधिअनुसार सदस्यको उम्मेदवार सिफारिस हुनुपर्नेमा उनले जोड दिए । मुलुकमा आर्थिक मन्दीसँगै बढ्दो निराशाका बीच प्रतिनिधि चयनले ठूलो अर्थ राख्ने उनको भनाइ थियो । मुलुक संकटमा छ भन्दैमा जनताका प्रतिनिधि चयनमा सुझबुझ नपु¥याउन कसैलाई पनि छुट नहुने उनले बताए ।

‘म के कुरासँग सहमत छैन भने अन्य राजनीतिक दलले पनि भन्न मिल्दैन, खासगरि नेपाली कांग्रेसले त भन्न मिल्दै मिल्दैन, के भने देश अहिले संकटमा छ । हामी अप्ठेरो अवस्थामा छौं, भनेर भन्यो भने सजिलो अवस्था कहिले आउने ?,’ उनले भने, ‘२०६० सालमा पनि यही भन्या थियौं, संविधान सभाको बेला पनि यही, निर्वाचन हारेर प्रचण्ड बहुमत ल्याएको बेला पनि यही । अहिले हामी नेपालको सबैभन्दा ठूलो पार्टी भएको बेला पनि देश संकटको अवस्थामा छ भनेर भन्ने हो भने नेपाल सधैं संकटको अवस्थामा रहन्छ भन्ने भयो ।’

मुलुकको अवस्था सम्हालेर समाजलाई सकारात्मक बाटो दिन दलहरु गम्भीर हुनुपर्ने उनले बताए । ‘हामीले केही पनि हुँदैन भन्दै आत्मविश्वास गुमाइरहेको अवस्था छ, गाउँ खाली हुन थाले युवाहरु बाहिरिन थाले, यो देशमा कोही बस्दैन भनेर जुन आएको छ एक हिसाबले राम्रो कामहरु भइरहेको छैन्,’ उनले भने, ‘सरकारले ठिक तरिकाले काम गर्न सकेको छैन । जुन परिणाम आउनुपर्ने आउन सकेको छैन । तर, यो सबैको बीचमा यसलाई सम्हालेर लाने काम पनि हाम्रो हो । समाजलाई सकारात्मकतर्फ लानुपर्छ ।’

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : ३५ बजे