Logo

मुख्य समाचार

इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका हुन् । उनले पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध एवम विकसित बनाउन इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने औंल्याए ।

सडक, यातायात, कलकारखाना, उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रको प्रगति एवम विकासका लागि इन्जिनियररूले जिम्मेवार भएर काम गर्न दाहालको सुझाव थियो । ‘इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् । यतिबेला विकास निर्माणका कामहरू भइरहेका छन् । पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ ।’

उनले नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिको लागि स्टाफ कलेजको स्थापनाको प्रयासमा लागिरहेको उल्लेख गर्दै आफू त्यसमा सकरात्मक रहेको बताए ।

उनले भने, ‘नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तपाईँहरूको यो चासो र मागलाई मंैले सकारात्मक रूपमा लिएको छु ।’

आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी रहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १ : ५४ बजे