Logo

अर्थ

घट्यो खसी बोकाको मूल्य


३ कार्तिक २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ ।

कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ ।

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो । पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ ।

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ ।

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ ।

काठमाडौं उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ०७ बजे