काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार दिनभर राजनीतिक भेटवार्तामा संलग्न रहे ।
बिहान काठमाडौं ओर्लेका लु ले सबैभन्दा पहिला कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटेका थिए । भेटवार्तामा खास के विषयमा छलफल भयो भनेर सार्वजनिक भइसकेको छैन । तर एमसीसी परियोजना कार्यान्वयन गर्ने समय नजिकिएका बेला लुको नेपाल भ्रमण यसमै केन्द्रित रहेको बताइएको छ ।
त्यसलगत्तै परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्न मन्त्रालय पुगेका उनले त्यसपछि भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटवार्ता गरेका छन् । दुबै भेटमा एमसीसी परियोजनाकै बारेमा छलफल भएको थियो । परराष्ट्रमन्त्री साउदसँगको भेटवार्तामा समेत एमसीसी परियोजना कार्यान्वयनका बारेमा छलफल भएको बताइएको छ ।
अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेर लू स्वदेश प्रस्थान गरेका छन् । यसअघि गतवर्षको साउनमा समेत नेपालमा आएका लूले त्यसबेलामा एमसीसी परियोजना नेपालको संसदबाट पारित नहुनुको कारण बुझेर स्वदेश फर्किएका थिए । नेपालमा एमसीसी कार्यान्वयन गर्नुपर्ने वा नपर्ने भन्ने विषयको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौं ओर्लिएका लू ले त्यसबेलामा समेत नेताहरुलाई घरघरमै पुगेर भेटेका थिए ।
अहिले भने नेपालको संसदबाट एमसीसी अनुमोदन भइसकेको र अबको २ महिनापछि कार्यान्वयनमा आउने एमसीसीकै वरिपरि छलफल भएको बताइएको छ । यता एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयपछि लूको भ्रमण भएको छ । तर यसबारेमा कुनै पनि छलफल नभएको परराष्ट्रमन्त्रीको सचिवालयले बताएको छ ।
प्रतिक्रिया