काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिए । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। यात्रुहरू पाँचै जना मेक्सिकन नागरिक थिए ।
घटनास्थलमा नेपाल प्रहरीका असई निराजन बस्नेतको टोली पुगेको छ। उनी मोटरसाइकलमा घटनास्थलमा पुगेका हुन्। शव संकलन गर्ने काम भइरहेको छ ।
बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। तर सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।
प्रतिक्रिया