काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दुई दिनको म्याद दिएको छ ।
रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको थियो ।
उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।
रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतोमा सरकारी गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको छ ।
प्रतिक्रिया