काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा आफूले दुर्गा प्रसाईंसँग कुराकानी गरेको अप्रत्यक्ष रुपमा स्वीकार गरेका छन् ।पार्टीको बचाउका लागि आफूमाथिको निलम्बन स्वागत गर्छु भन्दै पत्रकार सम्मेलन गरेका श्रेष्ठले एकतर्फी मात्र कुरा राखेका थिए । अन्यन्तै छोटो कुरा राखेका श्रेष्ठले जनवरीमा भएको कुरा अहिले सार्वजनिक गर्नु पार्टीलाई तीनवटै क्षेत्रमा हराउने षड्यन्त्र भएको बताए ।
‘जनवरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट हान्ने, प्रहार गरिएको हो । यो तीनवटै निर्वाचन क्षेत्रमा हराउने षड्यन्त्र हो,’ हतास हुँदै ढाकाकुमारले भने, ‘सम्पूर्ण महानुभावहरुले भोट दिएर तीनवटै क्षेत्रका लिडरहरुलाई जिताइदिनुहोला । म क्लिन चिट लिएर फेरि आउनेछु, धन्यवाद ।’
यति भनेर उनले पत्रकारका कुनै पनि प्रश्नको जवाफ नदिएरै बाहिरिएका थिए । त्यसअघि, उनले आफूसँग जोडिएको अडियोका कारण पार्टीलाई क्षति भएको भन्दै माफी मागेका थिए । त्यसँगै उनले त्यो अडियो बनावटी भएको भन्दै त्यसबाट आफूले ‘क्लिन चिट’ पाउने दाबी गरेका थिए । उनले पार्टीले गरेको निलम्बनको पनि स्वागत गरेको बताए ।
‘आमा बुवा, दिदीबहिनी र शुभचिन्तकहरुमा नमन । मसँग जोडिएको अडियो जुन भाइरल भइरहेको छ, त्यसले गर्दा पार्टी, अहिलेको चुनाव र उपनिर्वाचनमा उमेदवारलाई घात गरेको हुनाले म क्षमाप्रार्थि छु,’ श्रेष्ठले भने, ‘अडियो मिडियामा जसले पनि, जहाँ पनि, जसरी पनि बनाउन सकिन्छ । मेरो अहिले बोलिरहेको अडियो इडिटिङ गरेर अर्को तरिकाले मोडेर बाहिर ल्याउन सकिन्छ । यो अडियो केही पनि होइन । यो अडियो ह्वाट्स एपमा कुराकानी भएको भनिएको छ ।’
उनले आफू मंगलबारदेखि नै न्यायालय गइसकेकोे पनि बताए । ‘म हिजोबाट नै न्यायालयमा गइसकेको छु । म न्यायालयबाट क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु । त्यतिञ्जेलसम्म धैर्य गर्नुहुन अुरोध गर्दछु,’ श्रेष्ठले भने ।
यति भनेपछि उनी मिलाउन खोज्दै गर्दा चिप्लिएका थिए । ‘यो अडियो केही पनि होइन,’ हतास हुँदै बोलेका श्रेष्ठले भने, ‘जनवरीमा भएको अडियो अहिले आएर हाल्नु भनेको सुनियोजित षड्यन्त्र हो ।’ त्यसपछि तपाईँका भनाइ नै आपसमा बाझिए, प्रस्ट पार्नुस् भन्दै पत्रकारले गरेको प्रश्नको जवाफ नदिएरै उनी बाहिरिएका थिए ।
प्रतिक्रिया