Logo

मुख्य समाचार

विद्यालयले किताब र पोसाक बेचेको गुनासो आयो : मेयर साह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।

मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत महानगरको चेतावनी छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ०४ बजे