Logo

खेलकुद

एकदिवसीय क्रिकेटमा आसिफको पहिलो शतक


२५ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।आसिफले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शतक बनाएका हुन् । आसिफले १०१ बलमा १० चौका र दुई छक्का सहित पहिलो शतक पूरा गरे ।

आसिफले एकदिवसीय क्रिकेटमा सात अर्धशतक प्रहार गरे पनि शतक भने बनाउन सकेका थिएनन् । पीएनजीविरुद्ध ९० रन बनाएपछि उनी एकदिवसीय क्रिकेटमा नेपालबाट एक हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर बने । पीएनजीको खेलअघि उनले ९१० रन बनाएका थिए । आसिफ अघि नेपालका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा १००० रनको कोशेढुङ्गा पार गरेका थिए ।

यस्तै, आसिफ एकदिवसीय क्रिकेटमा शतक बनाउने पाँचौ नेपाली ब्याटर बने । आसिफअघि नेपालबाट पूर्वकप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १२ : ५८ बजे