काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)माथि सात रनको विजय हासिल गर्दै श्रीलंकामा हुने २०२४ को आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल आठौँ पटक यू–१९ विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।
‘संघले नेपाली युवा टिमले हासिल गरेको सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ,’ क्यानले भनेको छ, ‘हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोवल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’
यूएईको अजमानस्थित इडेन गार्डेनमाकप्तान देब खनालले ५१ रन बनाएपछि टस हारेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि १९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।
प्रतिक्रिया