काठमाडौं । आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उमेदवारी दर्ता भएको छ । आठै दलका प्रमुख नेताहरुलाई प्रस्तावक र समर्थक राखेर पौडेलको उमेदवारी दर्ता भएको हो ।
दर्ता अघि आठ दलको बैठक बसेर पौडेलको प्रस्तावक र समर्थकको टुंगो लगाइएको थियो । पौडेलको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष आशोक राई र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खाँन छन् ।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उमेदवारी दर्ताको समय रहेको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए ।
प्रतिक्रिया