Logo

मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर मुख्यमन्त्री रावलले विश्वासको मत जुटाउन भेटघाटलाई तिब्र पारिरहेका छन् ।

सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नगरे विश्वासको मत दिन नसकिने अडान राखेपछि रावलको दौडधूप बढाएका हुन् ।

उनलाई न्युनतम २७ जना सांसदले विश्वासको मत दिनुपर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको खण्डमा उनले विश्वासको मत पाउने सम्भावना छैन ।

यसअघिनै रावलले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ५२ बजे