Logo

अर्थ

यूनियन, प्राइम र गुराँस लाइफ मर्जरमा जाने अन्तिम सम्झौता



काठमाडौं । यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक अपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा यूनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको सेयर अनुपात १ः१ः१ कायम गरिएको छ ।

मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष हुने छन् । यस्तै, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण मर्जरपश्चात् बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने छन् ।

सम्झौताअनुसार मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू सम्पन्न गरी २०७९ चैत्रभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ । यो अवधिसम्म कम्पनीका शाखाहरू, कर्मचारी समायोजनका कार्यहरू समेत सम्पन्न गरिने छ ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनीहरू एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने जानकारी गराए ।

यसैगरी नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ४४ बजे