काठमाडौं । काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १२.४ ओभरमा ८३ रनमै समेटियो । काठमाडौंका अविनाश बोहरा, कप्तान ज्ञानेन्द्र मल्ल, लोकेश बम र कमलसिंह ऐरीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अविनाश १६ रनमा अविजित रहदा ज्ञानेन्द्रले १५, लोकेशले १३ र कमलले १० रन बनाए ।
काठमाडौंलाई सस्तैमा समेट्न सुर्य तामाङले चार विकेट लिए । २.४ ओभर बलिङ गरेका सुर्यले १४ रन खर्चिए ।
यस्तै, साहब आलम, जोसेफ किओनले समान दुई विकेट लिदा हुसैत तलातले एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो ।
विराटनगरका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाएका थिए । रोहितले ४९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै हुसैन तलातले ३८ रन थपे । स्कोर बोर्डमा पाँच रन जोड्दा दुई विकेट गुमाएर दबाबमा आएको विराटनगरको इनिङ यी दुईले सम्हालेका थिए ।
रोहित र तलातले तेस्रो विकेटका लागि ९८ रनको साझेदारी गर्दै टिमको इनिङ उकासेका थिए ।
यसबाहेक, विवेक यादव ४६ रनमा अविजित रहदा राज नाननले २३ रन थपे ।
काठमाडौंका कमलसिंह ऐरी र अनिल खरेलले समान दुई विकेट लिदा अविनाश बोहरा र गौतम केसीले एक–एक विकेट लिए ।
जीतसंगै विराटनगरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई हराएको लुम्बिनी अल स्टार फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया