काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बिहान ११ बजेदेखि बैठक शुरु हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ ।
समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै सम्वादको लागि वार्ता समिती पनि गठन नेसपाले गठन गर्ने गर्ने छ ।
समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।
यसअघि शनिबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको थियो । भेटमा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा) का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ ।
प्रतिक्रिया