Logo

मुख्य समाचार

काठमाडौं उपत्यकामा हुस्सुका कारण उडानहरु अवरुद्ध



काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । बिहीबार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । काठमाडौंमा बिस्तारै हुस्सु कम भए पनि पोखरा, सिमरा, भैरहवा, धनगढीलगायतका विमानस्थलबाट भने मौसमका कारण उडान हुन सकेका छैनन् ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आगामी २४ घण्टामा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ५४ बजे