Logo

मुख्य समाचार

रोल्पाको विकास र समृद्धिको लागि लोकतान्त्रिक – बाम गठबन्धन गरेको पुनमको दाबी



रोल्पा । रोल्पा प्रदेश सभा ‘ख’ बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार एवम नेपाली कांग्रेशका लुम्बिनी प्रदेश सभापति अम्मरसिङ पुनले रोल्पाको समृद्धि र विकासको लागि बाम–लोकतान्त्रिक गठबन्धन भएको बताएका छन् । आइतबार गंगादेव गाउँपालिका–२ को सुखाओडारमा भएको लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले संविधानको रक्षा, स्थायीत्व, देशको समुन्नतिको लागि विचार मिल्ने लोकतान्त्रिक बाम गठबन्धन भएको समेत बताए । ‘हिजोका दिनमा एक अर्कामा वर्ग दुश्मन जस्तो मानिन्थ्यो ।’ पुनले भने, ‘तर आज सँगै मिलेर देशलाई निकास दिन तिर लागेका छौं ।’ रोल्पाको विकास र समृद्धिको लागि सबैले प्रतिनिधि सभामा बर्षमान पुन ‘अन्नत’ र प्रदेशसभा सदस्यका लागि अम्मरसिङ पुनमगरलाई विजय गराउनु अहिलेको आवश्यकता भएको उनले बताए ।

अन्य जिल्लामा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतको गठबन्धन भएको बताउदै पुनले भने ‘हाम्रो गठबन्धन पाँच बर्षको लागि मात्र नभएर देशको समृद्धि, स्थायी सरकार, शान्ति प्रक्रिया, शु:व्यवस्था, सबैको अधिकारको रक्षाका लागि हुने छ ।’

हिजोका दिनहरुमा केही कुरा नमिलेता पनि आज आएर
सबै कुरा मिल्दैन गएको उनले बताए । ‘हिजो रुखमा भोट हालेकाले आज हँसिया हतौडामा किन भोट नहाल्ने, हिजो हँसिया हतौडामा भोट हालेकाले आज रुखमा किन नहाल्ने ।’ पुनले भने । संयुक्त गठबन्धनका उम्मेद्बारीहरुलाई एकअर्काले सहयोग गर्नुपर्ने उनको भनाई छ । साथै रोल्पामा लोकतान्त्रिक बाम गठबन्धन गरेर देशमा नयाँ खालको सन्देश रोल्पाबाट भएको समेत पुनले बताए ।

प्रतिनिधि सभामा बर्षमान पुनले जित्नु र प्रदेशसभामा अम्मरसिङ पुनले जितेपछी रोल्पाको लागि विकास र समृद्धिको ढोका खुल्ने उनले बताए ।मङ्सिर–४ को चुनावमा सबै एकजुट भएर सफल बनाउनुपर्ने उनको भनाई छ । उनले आफ्नो अमुल्य मत दिएर हँसिया हतौडामा बर्षमान पुनमगर र रुखमा अम्मरसिङ पुनमगरलाई दिएर जिताउन गंगादेव गाउँपालिका बासी सबैलाई आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ३५ बजे