Logo

मुख्य समाचार

सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त तुलाधर


१६ कार्तिक २०७९, बुधबार  

207
Shares

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त डा तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।

उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको बताइन् ।

आयोगका सूचना र गतिविधिबारे आममतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन इ बुलेटिनको सञ्चालन र टोल फ्रि नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन उनले आग्रह गरिन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४७ बजे