Logo

मुख्य समाचार

विप्लवसँग भएको तीनबुँदे सम्झौताप्रति सरकार प्रतिबद्ध छ – गृहमन्त्री



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ । विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन थालेको हो । सरकारका दुई मन्त्री र महान्यायाधिवक्ताले एकसाथ पत्रकार सम्मेलन गरेर चन्द नेतृत्वको नेकपाले राखेका मागको सम्बोधनका क्रममा विगतको सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेका बेला नेकपाले त्यसलाई बहिष्कार गर्ने चर्चा चलाइरहेको छ । त्यसैले सोमबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले चन्द नेतृत्वको नेकपा र २०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयनमा कुनै पनि शंका–उपशंका नभएको र सरकारले चाहेर पनि फिर्ता लिन नसक्ने मुद्दाबाहेक सबै मुद्दा फिर्ता हुने चरणमा रहेको बताएका थिए।

जिल्ला प्रशासन कार्यालय, अदालत, महान्यायाधिवक्ताको कार्यालयलगायत सबैजसो सरोकारवाला निकायले सो विषयमा काम गरिरहेको पनि गृहमन्त्री खाणले दाबी गरे । उनीहरूले राजनीतिक समस्या र प्रशासनिक समस्या रहेका मुद्दामा सहजता भए पनि कानुनी र अदालती प्रक्रियामा पुगेका मुद्दालाई सुल्झाउन कानुनी प्रक्रिया नै पूरा गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ५३ बजे