Logo

Breaking News 1

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, अर्थमन्त्रीको जवाफ नसुन्ने



काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्थन शर्माको राजीनामा माग गरेको छ ।

अर्थमन्त्री भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै राजीनामा मागेको हो। मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।

मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।

‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ रु प्रधाानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन,’ पाण्डेले बैठकमा भने ।

यसबारे सोमबारको बैठकमा समेत एमालेले प्रश्न उठाए पनि जवाफ नआएको भन्दै पाण्डेले अब जवाफ नआएसम्म सदन कामकारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । सोही क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि अर्थमन्त्री शर्माको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्दै मन्त्रालयगत विषयमा भएको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट हटाउन माग गरे ।

अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट नहटाएसम्म बैठक चल्न नसक्ने भट्टराईले बताइरहँदा एमालेका सांसद उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सुनुवाइ हुने आश्वासन दिएपछि अहिले प्रतिनिधिसभाको बैठक चलिरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : ११ बजे