Logo

मुख्य समाचार

अछाम घटना: युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी दर्ता



काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् ।

शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दर्ता गर्न प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझेका हुन् ।

मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए ।

मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका अफान्तले शव बुझेका थिएनन् ।

बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिमाका नाममा मुद्दा दायर गर्ने सहमतिपछि पीडित पक्ष शवको पोष्मार्टम गर्न मञ्जुर भएका थिए । पीडित पक्ष मञ्जुर भएपछि बुधबार नै शव जिल्ला अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् ।

बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : ०८ बजे