काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसकिने जनाएको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
विभागले नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने स्पष्ट पारेको हो ।विभागले यस प्रयोजनाका लागि प्रविधि र जनशक्तिको अभाव रहेको जनाएको छ ।
विभागले अन्तर्राष्ट्रिय उडानको इनरुट मौसमबारे जानकारी दिँदै आएको छ । आन्तरिक उडानका लागि भने मौसम अवलोकन सूचना मात्रै दिँदै आएको विभागले जनाएको छ ।
हाल उपलब्ध प्रविधि र जनशक्तिको आधारमा आन्तरिक उडानका लागि दैनिक मौसमको अवस्थाको बारे मात्रै जानकारी दिन सकिने विभागको सूचनामा उल्लेख छ ।
यही जेठ १५ गते खराब मौसमकै कारण विमान दुर्घटना भएको ठहर गर्दै सरकारले सफा मौसम नभए उडान नगर्न निर्देशन दिएको छ । तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।
प्रतिक्रिया