Logo

मुख्य समाचार

सर्लाहीमा धारिलो हतियार प्रहार गरी मोटरसाइकल लुटपाट, एक जना घाइते



सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागवानी केन्द्र नजिक पूर्व–पश्चिम राजमार्गमा अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी एक जनाको मोटरसाइकल लुटेर फरार भएका छन् ।

हिजो शनिवार साँझ करिब ७:५० बजे हरिवनबाट लालबन्दीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७४०४ नम्बरको निलो रङको यामाहा सलुटो १२५ सीसी मोटरसाइकलमा सवार महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–७ बस्दै आएका अन्दाजी ३७ वर्षीय सुजित कुमार सिंहमाथि अपरिचित दुई जनाले धारिलो हतियार प्रहार गरेका हुन् । 

नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सिंहमाथि धारिलो हतियार प्रहार गरी उनी सवार मोटरसाइकलसमेत लिएर फरार भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

सिंह हरिवन बजार क्षेत्रमा पसलको पैसा उठाइ घरतर्फ फर्कनेक्रममा आक्रमण भएको बुझिएको छ । उनले उठाएर पसलतर्फ ल्याउँदै गरेको पैसा भने लुटिए÷नलुटिएको प्रष्ट भइसकेको छैन् ।

घटनास्थलमा गोली चलेको भनिए पनि पुष्टी भइसकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता गौतमले घटनामा धारिलो हतियार प्रहार भए पनि गोली चलेको पुष्टी हुन बाँकी रहेको बताए ।

घाइते सिंहको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र पेटमा चोट लागेको तथा अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजतलास तथा लुटिएको मोटरसाइकल बरामद गर्न प्रहरीले खोजीकार्य र थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८३, आइतबार  ७ : ४४ बजे