Logo

Breaking News 1

‘पार्टीले टिकट दिए कैलालीबाट निर्वाचन लड्छु’: आरजु राणा देउवा

'चुनाव सहज छैन । चुनावसम्मै गठबन्धन कायम रहन्छ ।'



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आगामी निर्वाचनमा पुन: कैलालीबाट निर्वाचन लड्ने संकेत गरेकी छिन् ।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीले टिकट दिएको खण्डमा कैलाली ५ बाट पुन निर्वाचन लड्ने संकेत आरजुले गरेकी हुन् ।

२०७४ सालको निर्वाचनमा उनी कैलाली ५ बाट निर्वाचन लडेकी थिइन् । तर, उनी बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएकी थिइन् । अन्य जिल्लाहरुबाट पनि निर्वाचन लड्न प्रस्ताव आइरहेको भन्दै राणाले आफूले अन्य स्थानकाबारेमा नसोचेको र टिकट पाएमा कैलाली ५ बाट नै लड्ने बताइन् ।

‘सर्लाहीका साथीहरूले पनि आउनु भन्नु भएको छ । कोहलपुरमा पनि उठ्न आग्रह गरिरहनु भएको छ । पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु, उनले भनिन् ।’

राणाले आगामी निर्वाचनसम्मै गठबन्धन जाने पनि ठोकुवा गरिन् । कांग्रेस गठबन्धन बेगर निर्वाचनमा जाने हल्ला बाहिर चलिररहेको अवस्थामा उनले पाँच दलीय गठबन्धन चुनावसम्मै कायम रहने बताएकी हुन् ।

अहिलेको अवस्थामा एक्लै चुनावमा जान सहज नभएको उनको भनाई रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : १५ बजे