Logo

मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्ष बन्न विनोद उप्रेतीको आकांक्षा


३० आश्विन २०८३, शुक्रबार  

0
Shares

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि विनोद उप्रेतीले आकांक्षा व्यक्त गरेका छन् । समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) मा हुने तय भएसँगै उप्रेतीले अध्यक्ष पदमा आफ्नो दाबी अघि सारेका हुन् ।

धादिङको धुनिबेँसी नगरपालिका–६, नौबिसे निवासी उप्रेती हाल अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका छन् । उनले शंकरदेव क्याम्पसबाट एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) अध्ययन गरेका छन् ।

सन् २०१८ मा अस्ट्रेलिया पुगेका उप्रेती त्यसयता विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय छन् । उनले अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्ष, NARA Australia को NCC सदस्य तथा NRNA Capital Canberra को कोषाध्यक्षका रूपमा काम गरिसकेका छन् ।

उपाध्यक्षका रूपमा संस्थाका गतिविधिमा संलग्न रहँदा समाजको कार्यप्रक्रिया र आवश्यकताबारे नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उप्रेतीले संस्थालाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेको बताएका छन् ।

समाजको यसअघिका अधिवेशनमा सहमति र सहकार्यका आधारमा नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै उनले आगामी अधिवेशनबाट पनि सहमतिमै नयाँ कार्यसमिति गठन हुनुपर्नेमा जोड दिएका छन् ।

“धादिङ समाजको यसअघिका अधिवेशनको सहमति, सहकार्य र एकताप्रति म एकताबद्ध छु । आगामी अधिवेशनमा पनि सहमतिबाटै कार्यसमिति गठन गर्ने मेरो जोड हुनेछ,” उनले भने ।

उप्रेती नेपाली समुदायबीच सम्बन्ध विस्तार, आपसी सहयोग र सहकार्य प्रवर्द्धन तथा नेपाली संस्कृति र पहिचानको संरक्षणसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी हाल श्रीमती र एक छोरासहित क्यानबेरामा बस्दै आएका छन् । त्यहाँ उनले Rara Grocery सञ्चालन गर्दै आएका छन्, जहाँ नेपाली तथा दक्षिण एसियालीलगायत विभिन्न समुदायका ग्राहकलाई खाद्यान्न र दैनिक उपभोग्य सामग्री उपलब्ध गराइन्छ ।

समाजको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले अध्यक्षसहित विभिन्न पदमा आकांक्षीहरूको चर्चा बढ्दै गएको छ । अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयाससमेत हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाज गठनको प्रक्रिया २०७४ सालबाट सुरु भएको हो । २०७४ असोज १६ गते धादिङबेँसीमा भुवन गुरुङको संयोजकत्वमा सम्पन्न पहिलो भेलाले समाजको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार असोज ३१ गते काग तिहारका दिन धादिङबेँसीमा सम्पन्न भेलाले नानुकाजी अर्यालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ असोज २७ गते काठमाडौंमा सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट नानुकाजी श्रेष्ठ अध्यक्षमा चयन भएका थिए । दोस्रो अधिवेशन २०७८ असोज २४ गते सम्पन्न हुँदा राजन खकुराल अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०८१ असोज २३ गते सम्पन्न तेस्रो अधिवेशनले खकुराललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ९ : ३४ बजे