Logo

मुख्य समाचार

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्‌


२७ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो ।

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगले लाभ लिन सक्नेछन् । यसले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको नियमितता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।

खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ ।

प्राधिकरणले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त क्षेत्रमा विद्युत् पुर्‍याउन ठेक्का प्रक्रिया अगाडि बढिसकेको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गर्ने लक्ष्य राखिएको छ ।

सङ्खुवासभामा करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् । बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणले जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारलाई निरन्तरता दिँदै आएको छ । राष्ट्रिय प्रसारण लाइनको विस्तारले स्थानीयस्तरमा स्वास्थ्य तथा शिक्षा सेवा सञ्चालन, घरेलु उद्योगको विकास र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ३ : ५५ बजे