Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा


२० आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। यसअघि नायब महाप्रबन्धक रहेका अकेला बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत थिए।

अकेला सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। बैंकिङ क्षेत्रमा उनको २२ वर्षभन्दा लामो अनुभव रहेको बैंकले जनाएको छ।

उनले बैंकमा एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन र आन्तरिक लेखापरीक्षणलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्।

अकेला ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

ग्लोबल आइएमई बैंकका अनुसार अकेलाको बढुवासँगै जोखिम व्यवस्थापन तथा बैंकको समग्र कार्यसञ्चालनमा उनको अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गरिनेछ।

ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ५३ बजे